neelambAd

मधेश प्रदेश सरकारमा लामो समयदेखि बिना विभागीय मन्त्री रहेकी सुरिता साह श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । उनी जनता समाजवादी पार्टी(जसपा)बाट सरकारमा रहेकी छन् ।

मन्त्रीमण्डल पुनर्गठन हुँदा साहलाई बिना विभागीय मन्त्री बनाइएको थियो । प्रारम्भमा उनी सामाजिक विकास मन्त्री बनेकी थिइन् । तर मन्त्रालयहरुको नाम र कार्यक्षेत्र फेरिदा साहको विभाग खोसिएको थियो । सामाजिकबाट शिक्षा र स्वास्थ्यलाई अलग अलग गरिएको छ । जनमत पार्टी संसदीय दलका नेता महेश यादव शिक्षा मन्त्रालय र नेपाली कांग्रेसका वीरेन्द्र सिंह स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । रिक्त रहेको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मन्त्री साहलाई दिने तयारी भएको उच्चस्रोतले जनाएका छन् ।

स्रोतका अनुसार यातायात मन्त्रालयका लागि साहले पछिल्लो समयमा लविंग गरिरहेकी थिइन् ।जसपाका अध्यक्ष उपेन्द्र यादवले साहलाई यातायात मन्त्रालय दिन ‘ग्रीन सिंग्नल’ दिएको स्रोतले जनाएका छन् । ‘साहलाई यातायात मन्त्रालयको जिम्मेबारी दिन अध्यक्ष यादव सकारात्मक भएका छन्’ स्रोतले भने, उनी चाँडै विभाग पाउने भएकी छन् । हाल सो मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्दै आएका छन् ।

साहसँगै विभाग खोसुवामा परेका वसन्त कुशवाहालाई भने हटाइने भएको छ । उनी कृषि मन्त्री हुँदा अनुचित दबाब र जातीय विभेद गरेको आरोप मन्त्रालयका प्रशासनिक निकायबाट लागेपछि विभाग विहीन बनाइएका थिए । जनमत पार्टीलाई सरकारबाट भने नहटाइए पनि कुशवाहालाई विदा गरिने तयारी भएको स्रोतले जनाएका छन् । स्रोतका अनुसार गठबन्धन सरकारको धर्म विपरीत कार्य गरेकाले सरकारबाट उनलाई बिदा गर्नेमा जनमत बाहेकका सत्तासीन सबै दलहरु एकमत देखिएका छन् । तर कुशवाहालाई हटाइए पनि जनमतकै एकजनालाई थप्ने अथवा कांग्रेसलाई थप मन्त्रालय दिने विषयमा टुंगो लागिसकेको छैन् ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय