neelambAd

६ असार, बैंगलुरु । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ ।आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको  हो ।बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए ।

पहिलो हाफमा नेपालले आफ्नै गल्तीमा गोल खाँदा खेलमा फर्कन कठिन भएको थियो । कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो ।२३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो ।अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्‍यो । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो ।

अथ्बी सालेशले थ्रो बलमा उपलब्ध गराएको बलमा मोहम्मद अब्दुल्लाहको पासमा अलखल्दीले पेनाल्टी बक्समा विमल पाण्डेलाई छलाउँदै गोल गर्दा कप्तान किरणले रोक्ने कुनै अवसर पाएनन् ।दोस्रो हाफमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नवयुग श्रेष्ठलाई बाहिर निकाल्दै आयुष घलानलाई मैदान उतारे ।आयुषको आगमनपछि नेपालको खेल नै परिवर्तन भएको थियो । जहाँ नेपालले सुधारिएको प्रदर्शन गर्‍यो ।

५७औं मिनेटमा नेपालले गोल गर्ने अवसर बनाए पनि गोल भएन । आयुषले निकालेको बलमा अन्जन विष्टको क्रसमा सनि श्रेष्ठको हेडर पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले खेलमा फर्कने अवसर गुमायो ।६५ मिनेटमा कुवेतले तेस्रो गोल गर्‍यो ।अनन्त तामाङले पेनाल्टी एरिमा ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।तीन गोलले पछि परे पनि नेपालले आक्रमण भने गरिरह्यो । दोस्रो हाफमा कुवेतको क्षेत्रमा लगातार बल लगेको नेपाल ६७ औं मिनेटमा गोल गर्न सफल भयो ।कुवेती डिफेण्डर अब्दुल्लाह अलब्लोउसीको गल्तीमा अन्जन विष्टले गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् ।

उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।यो नेपालले कुवेतविरुद्ध लगातार दोस्रो खेलमा गरेको गोल पनि हो ।गत वर्ष एसियन कप छनोटमा कुवेतसँग पराजित हुँदा नेपालका दर्शन गुरुङले गोल गरेका थिए ।  समग्रमा भने नेपालले कुवेतमाथि गरेको यो तेस्रो गोल हो ।

सन् १९८२ मा नेपालले एसियन गेम्समा कुवेत विरुद्ध पहिलो पटक गोल गरेको थियो । उक्त खेलमा नेपाल ३-१ ले पराजित हुँदा वाईबी घलेले एक गोल गरेका थिए । जुन नेपाली फुटबल इतिहासकै पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय