

वीरगञ्ज । गहवामाईको नव निर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा भव्य रथयात्रा निकालिने भएको छ । असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथयात्रा निकालिने आयोजक समितिले जनाएको छ ।
गहवामाई मन्दिर परिसमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारीसमेत पूरा भएको आयोजक समितिले जनाएको छ । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आइतबार एकैछिन गुडाएर परीक्षण समेत गरिएको थियो ।



रथको रङ्गरोगन बाहेक निर्माणको अन्य काम पूरा भएको गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले जानकारी दिए । रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाइएको उनले बताए ।

नेपाल र भारतका ख्याति प्राप्त कालीगढहरुले निर्माण गरेको हिन्दूहरुको आस्था गहवामाईको रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने अपेक्षा गरिएको गरिएको समितिका अध्यक्ष पोखरेलले बताए ।
कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल पनि गरिएको छ । गहवामाईको नवनिर्मित मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक रथयात्रा नकाल्न लागिएको हो । ‘अब प्रत्येक वर्ष मन्दिर स्थापना दिवसको अवसर पारेर रथयात्रा निकाल्ने हाम्रो योजना छ,’ उनले भने ।
गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको छ । रथको डिजाईन र निर्माण गर्ने कारिगर नेपालकै हुन् । वीरगञ्ज महानगरपालिका र स्थानीयहरु आर्थिक सहयोगमा निमार्ण गरिएको रथमा लगभग २५ लाख रुपैयाँ लागत लागेको छ ।
रथयात्रा यहि ५ गते बिहान ६ बजे गहवामाई मन्दिरको प्राङगणबाट निकालिने रथयात्रा रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड, अलखियामठ, आदर्शनगर हुँदै माईस्थान भएर पुन: गहमावमाई मन्दिरमा पुगेर समापन हुनेछ ।
असार ५ गते रथयात्रा सम्पन्न भएपछि ६ गते महाप्रसादको कार्यक्रम राखिएको गहवामाई मन्दिर समितिले जनाएको छ । वीरगञ्ज महानगरपालिकाले रथयात्रा निकालिने दिने सार्वजनिक विदा पनि दिएको छ ।