

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा निर्माणका लागि आफूहरू छलफलकै क्रममा रहेको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जसपा अध्यक्ष यादवले समाजवादी मोर्चा निर्माणबारे प्रारम्भिक छलफल भइरहेको बताए।



‘अहिले म बारामा छु। यसको गृहकार्य भइरहेको छ। तर हामी निष्कर्षमा पुगेका छैनौं,’ उनले भने, ‘हामीले गहिराइमा पुगेर छलफल गर्न बाँकी नै छ। त्यसैले यति समयभित्र मोर्चा बन्छ भनेर भन्ने सक्ने स्थिति छैन।’
उनले समाजवादी मोर्चा बनाउन सकिने भए पनि त्यसको लागि गहन छलफल नभएको बताए।
यसअघि सेतोपाटीसँग कुराकानी गर्दै जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले राष्ट्रिय सभाका सांसद वामदेव गौतमसँग छलफल गर्न बाँकी रहेको बताएका थिए।
नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा लगायतका दलहरूले निर्वाचनअघि समेत समाजवादी मोर्चा बनाउने प्रयास गरेका थिए।तर जसपाले अन्तिम समयमा सत्ता गठबन्धन नै छोडेर नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको थियो।