

वीरगञ्ज । बुधबार हेर्न नभ्याइनेमा राखिएको वीरगञ्जको मुख्य सडक विस्तारको मुद्दामाको अर्को पेशी असोज २२ गतेका लागि तोकिएको छ ।
त्रिभूवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक हुँदै मितेरीपुलसम्मको सडक दाँयाबाँया २५/२५ मिटर फराकिलो गर्ने मुद्दाको आज बुधबार राखिएको पेशी हेर्न नभ्याईएपछि अर्को पेशीको मिति असोज २२ गते तोकिएको हो।



मुद्दा सर्वोच्च अदालतका न्यायधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दा क्रम सङ्ख्या ६, ७ र १७ नम्बरमा परेको थियो । तर, अहिले उक्त पेशी हेर्न नभ्याइनेमा राखिएको छ । बुधबार दिउँसो खाजापछि पेशी हेर्ने भनिएपनि खाजापछि अन्य मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो ।
पछिल्लो समयमा अन्तिमपटक सूचना भनेर ३५ दिने सूचना जारी गरेको सडक विभागविरुद्ध मेनरोडका बासिन्दाहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अहिलेसम्म मुद्दाको पेशी हुन सकेको छैन। कैयौंपटक पेशी सूचीमा चढे पनि समय अभाव भन्दै पेसी सर्दै आएको छ ।
बुधबारको पेशी नभ्याइने भएपछि अर्को पेशीको मिति तिन महिना पछि राखिएको हो । योसमेत गरी पछिल्लो तीन वर्षमा १८ चोटि पेशी सरिसकेको छ ।