

३० जेठ, जनकपुरधाम।१ असारमा आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी भइरहेको छ। अर्थमन्त्री सञ्जयकुमार यादव र अर्थसचिव प्रेमप्रसाद भट्टराईलाई बजेट बनाउन भ्याइनभ्याइ छ। ‘अहिले सबै काम छाडेर बजेट बनाउनमै व्यस्त छौं’ अर्थमन्त्री यादवले भने ।
आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदैछ। अर्थ मन्त्रालयका सचिव भट्टराई प्रदेश सरकारको २० अर्ब र सङ्घीय सरकारले दिने १५ अर्ब अनुदान गरी करिब ३५ अर्बको बजेट आउने बताउँछन्।



मधेश सरकारले चालु आर्थिक वर्ष २०७९-८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको थियो । संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरेपछि बजेटको आकार घट्न लागको सचिव भट्टराईको भनाइ छ। दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको प्रभावकारी परिचालनमा बजेट केन्द्रित हुने मधेश सरकारको भनाइ छ।
मधेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २६ जेठमा प्रदेशसभाबाट पारित भइसकेको छ।