

सर्लाही ,जेष्ठ २८
सर्लाहीको बसबरिया गाउँपालिका अध्यक्षले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता विपरीत नियम कानुन मिचेर जनताको चाहना र भावना विपरीत मनोमानी ढंगले एकलौटी रुपमा गापाको सम्पूर्ण काम कार्यवाही चलाइरहेको भन्दै सो को तत्काल सुधार गरेर जनताको आवश्यक्ता ,चाहना र भावना बमोजिम काम गर्न साथै वितरण गर्नको लागि आएको ग्यास सिलिन्डर प्रक्रियागत रुपमा वितरण गर्नुपर्ने लगायत विभिन्न ९ बुँदे मागहरु राखेर नेपाली काँग्रेस बसबरिया गाउँपालिकाले आइतवार गाउँकार्यपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
७ दिन भित्र ज्ञापनपत्रमा समेटिएका माग तथा समस्याहरुको सुधार नगरी अगाडी बढेको खण्डमा गापाको कार्यालय अगाडी धर्ना दिने,तालाबन्दी गर्ने र सो बाट उत्पादन हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार गापा अध्यक्ष राम सिंहासन राय र प्रमुख प्रशासकीय अधिकृत हुने बागमती सेवा समाजका अध्यक्ष गजेन्द्र साहले जानकारी गराएका छन् ।
उक्त ज्ञापनपत्रमा गाउँपालिका भरीका जनताहरुलाई वितरण गर्नका लागि ल्याइएको ग्यास सिलिन्डर वितरण गर्नको लागि सम्बन्धि वडाको वडा अध्यक्षको सिफारिसमा कुपन कार्यालयबाट उपलबध गराउनुपर्ने न कि अध्यक्षको घरबाट,प्रधानमन्त्री रोजगार कार्यक्रममा वास्तविक बेरोजगारहरुलाई रोजगार दिनुपर्ने न कि आफ्नो नाता कुटुम्बलाई,मिति २०७९ जेष्ठ १५ गते देखि २०८० जेठ १५ गतेसम्मको सम्पूर्ण खर्च रकमको व्योहोरा उपलब्ध गराउन लगायतका मागहरु समेटिएको साहले जनाएको छ।


