neelambAd

२६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

उनले भने, ‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’

भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताए । सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए । ‘अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन,’ उनले भने ।

राजनीति विकृत हुनुको कारण भ्रष्टाचारले काम गरेको बताउँदै उनले नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको पनि बताए । ‘विना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ,’ उनले भने ।

आफूहरुले यसको परिवर्तन गर्न चाहेको उनले बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘असल बन्नसके, भ्रष्टाचारविरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भुटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु विना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।’ online khabar

Facebook Comments Box

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय