

जनकपुर ९ जेष्ठ
लामो रस्साकस्सी र विवादका बीच मधेश प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । ६ दलीय गठबन्धनमा ३ दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसलाई दूई र नेकपा एकिकृत समाजवादी पार्टीलाई एक मन्त्रालय दिएर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।



मंगलबार मधेश भवन नेपाली कांग्रेसबाट कृष्ण यादवले भौतिक पूर्वाधार तथा विकास र विरेन्द्र सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेकपा एकिकृत समाजवादी पार्टीबाट गौविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथ ग्रहण गर्नु भएको छ ।
नेपाली कांग्रेसका सिंहलाई जसपाबाट सुरिता साहले सम्हाल्दै आएको मन्त्रालय र नेकपा एकिकृत समाजवादीका न्यौपानेलाई जनमतका वसन्त कुश्वाहाले सम्हाल्दै आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । हाल जसपाकी सुरिता साह र जनमतका बसन्त कुशवाहा बिना विभागीय मन्त्री भएका छन् ।

एमाले सरकारबाट बाहिरिएको दुई महिनापछि मुख्यमन्त्री यादवले कांग्रेस र नेकपा एकिकृत समावादीलाई सरकारमा सहभागी गराएपनि अझै मन्त्रीमण्डलले पूर्णता पाएको थिएन ।
दुई÷दुई वटा मन्त्रालयको माग गर्दै आएका गठबन्धनका घटक दलहरु माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी असन्तुष्ट भएको छ । माओवादी केन्द्रले त सरकारलाई समर्थन यथवात राख्दै मधेस सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ ।
सोमवार बसेको ६ दलीय गठबन्धनमा कांग्रेसले ४, लोसपा, जनमत र माओवादी केन्द्रले दूई÷दुई मन्त्रालयको प्रस्ताव गर्दा बैठक निष्कर्षविहिन भएको थियो । तर आज बिहान फोन मार्फत मुख्यमन्त्रीसँगको सम्वादमा कांग्रेस र नेकपा एसले सरकारमा सहभागी हुने सहमति जनाएपछि अन्य ३ घटक दल लोसपा, जनमत र माओवादी केन्द्र असन्तुष्ट भएका छन् ।