

३१ वैशाख,काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धानको अन्तिम चरणमा सुरक्षा सल्लाहकार इन्द्रजीत राईको बयानको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । प्रहरीले आइतबार उनका विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहकाभन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।



जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको स्रोतले बतायो । बुबा गृहमन्त्री भएका बेला प्रतीकले मानव बेचबिखन गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको प्रहरीले प्रमाण जुटाएकाले पक्राउ पुर्जी जारी गरिएको स्रोतको दावी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थहरु धमाधम पक्राउ पर्न थालेसँगै उनी फरार थिए । यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानपछि प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनले यसअघि आफू सो प्रकरणमा कुनै पनि रुपमा संलग्न नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
तत्कालीन गृहमन्त्रीका रुपमा रहेका रामबहादुर थापाले भने यो विषयमा केही बोलेका छैनन । थापाका छोरा प्रतीकको संलग्नता रहेको भन्दै यसअघि लगातार समाचार सम्प्रेषण भएपछि उनले विज्ञप्ति मार्फत आफू संलग्न नभएको जनाएपनि प्रहरीले उनलाई पक्राउ गर्ने आधार फेला पारेको भन्दै पक्राउ पूर्जी मागेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उनका विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यतिबेला उनी फरार रहेका छन् ।
सो प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणको गिरोहका नाइके हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको हो । उनी २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।शेर्पा घटना सार्वजनिक भएपछि मोबाईल अफ गरी बेपत्ता भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन।