
वीरगन्ज,२२ भदौं :मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशको शिक्षा प्रणाली जर्जर अवस्थामा पुगेको बताएका छन् ।शुक्रबार वीरगन्जस्थित मधेस विश्वविद्यालयको प्रथम वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले मधेस प्रदेशको शिक्षा प्रणाली अहिले जर्जर अवस्थामा रहेको बताएका हुन् ।
मधेस विश्वविद्यालयको सहकुलपतिसमेत रहेका यादवले जर्जर अवस्थामा रहेको मधेसको शिक्षा प्रणालीलाई सुधार गर्दै माथि उकास्न मधेस विश्वविद्यालयको भूमीका अहम हुने विश्वास आफुले लिएको बताए ।
उनले शिक्षा नै समाज निर्माणको मेरुदण्ड भएकाले शिक्षाको विकासलाई मधेस सरकारले मुख्य प्राथमिकता दिएकोपनि जनाए ।
मधेस प्रदेश सरकारसंग सिमित श्रोत साधन भएपनि सिमित श्रोतसाधनकै भरपुर उपयोग गरेर छोटो अवधीमै मधेस विश्वविद्यालय यो अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताए ।
मधेस विश्वविद्यालयलाई संघीय सरकारको र वैदेशीक दाताको सहयोगको आवश्यकता रहेकोमा जोडदिदै उनले भने,‘ अबका दिनमा संघीय सरकारको र वैदेशीक दाताको सहयोग यस विश्वविद्यालयले पाउनेमा मैले विश्वास गरेको छु ।
उनले अब मधेस प्रदेशको कुनैपनि व्याक्ति निरक्षर रहने उद्घोषपनि गरे । मन्त्री यादवले भने,‘ यदि हामीले निष्पक्ष रुपमा र सकरात्मक सोच राखेर काम गरयौ भने समाजको मुहार फेर्न सक्छौ । यो कुरा यस विश्वविद्यालयको प्रथम वार्षिक उत्सवलेपनि पुष्टि गरेको छ ।
मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यले स्थापनाको एकवर्षमै विश्वविद्यालयमा कक्षा सञ्चालनको अवस्थामा पुगेको जानकारी गराए । सुरुमा कानुन र जनप्रशासनको पठनपाठन सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने,‘ अबकोे एक दुई हप्ताभित्रै कक्षा सञ्चालन गर्दैछौ ।उनले अबको ५ वर्षभित्रमा मधेस विश्वविद्यालयलाई देशकै एउटा प्रतिष्ठीत र उत्कृष्ट विश्वविद्यालयका रुपमा स्थापित गर्ने उद्घोषपनि गरे ।
शाक्यको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई मधेस सरकारका उर्जामन्त्री सिंहासन साह कलवार , वनमन्त्री रमेश कुर्मी , मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउत , प्रदेश सभा सदस्यद्वय श्याम पटेल र प्रमोद जयसवाल, प्राध्यापक डाक्टर उपेन्द्र कोइराला , प्राध्यापक डाक्टर युवराज संग्रौला लगायतलेपनि सम्बोधन गरेका थिए ।